भुकम्प पिडितलाई अनुदान लिनै सास्ती



चरिकोट १३ फागुन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको मापदण्ड अनुसारनै घर बनाएपनि दोलखाका भुकम्प पिडितहरुले अनुदान लिन हदै सम्म सास्ती ब्यहोर्नुपरेको छ ।
दुर्गम गाउँबाट निजि आवास निर्माण सकेर अनुदान लिन सदरमुकाम चरिकोट आएका पिडितहरु बैंकमा ३ दिन लाइन बस्दा पनि रकम नपाएर हैरान भएका हुन् । भुकम्प पछि टहरामा बस्दै आएका दोलखाका पीडितहरु अहिले भने धमाधम घरबनाउन व्यस्त छन् तर सरकारी अनुदानको रकम लिन भने उनिहरुलाई निकै सकस परेको पिडितहरुको गुनासो छ । शैलुङ गाउँपालिका ६ का ५५ वर्षिया होम बहादुर कार्कीले लाइन बसेको तेस्रो दिन पछि बल्ल अनुदान पाएको दुखेसो गरे । बैंकको ढिलासुस्तीकै कारण दुःख पाएको उनको भनाई छ ।
प्रकृयानै झन्जटिलो
सरकारले दिने अनुदान रकम लिने प्रकृया झन्झटीलो भएकोले कतिपयले पहिलो किस्ता लिएर घर बनाउन थालेपनि बाँकी रकम लिन नसक्दा घरनै अलपत्र राख्नु परेको गुनासो गरेका छन् । गाउँमा खटिएका प्राविधिकले भवन डिभिजन कार्यालयलाई सिफारिस गरेपछि पिडितको फाइल जिल्ला समन्वय समिति मार्फत प्राधिकरण हुँदै कोलेनिका पुगेपछि मात्र समन्वय समितिले बैंक खातामा जम्मा गरेपछि बल्ल पिडितले अनुदान पाउने भएकाले प्रकृया झन्जटिलो भएको जनप्रतिनिधिहरुले बताएका छन् । बिगु गाउँपालिकाका प्रमुख युधिष्ठीर खड्काले बैंकहरु जिम्मेवार नहुँदा पिडितहरुले सास्ती बेहोर्नुपरेको प्रतिक्रिया दिए ।
बैङ्कमा स्थानियलाई सास्ती
दोलखाका अधिकांस बैङकहरुले भुकम्पपिडितहरुलाई सास्ती दिएको स्थानियहरुले आरोप लगाएका छन् । दोलखाको शैलुङगाउँपालिका वडा नम्बर ६ का धन बहादुर खड्काले तिन दिन बैङ्कमा लाईन बस्दा समेत पैसा नदिएको भन्दै गुनासो गरेका छन् । खड्का भन्छन्, सिटिजन बैङ्कमा पैसा लिन आएको तिन दिन भयो अझै पैसा पाएको छैन । त्यसैगरी मेलुङ गाउँपालिका वडा नम्बर २ घ्याङसुकाठोकरका ८० बर्षिय पदममाया कार्की एनसीसी बैङ्क चरिकोटले आफुलाई घर बनाईसकेर रकम लिन आउँदा आज दिन सकिदैन भनेर फर्काइदिएको गुनासो गर्छिन ।

स्थानीय तहमा बैंक नजाँदा पिडितहरु झनै मर्कामा
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले सबै स्थानीय तहमा बैंकहरुले शाखा सञ्चालन गर्नुपर्ने भनिएपनि दोलखाका कुनै बैंकले पनि गाउँमा शाखा विस्तार गरेका छैनन् । भुकम्प पिडितको अनुदान वितरण गर्ने जिम्मा पाएका बैंकहरु सदरमुकाम र सामान्य बजार क्षेत्र बाहेक अन्यत्र नजानु र सदरमुकाम आएका पिडितहरुलाई पनि समयमा अनुदान नदिनुले यतिबेला बैंकहरुको मनोमानी हदैसम्म भएको दोलखा बोचका सुन्दर कार्कीको दुखेसो छ । उनले अनुदान लिन आएका पिडितको सदरमुकाममा ३ दिन सम्म बस्दा धेरै रकम खर्च भैरहेको र त्यसको असर आवास निर्माणमा परेको प्रतिक्रिया दिए ।
नियमित कामका कारण ढिलाई भएको हो बैंक
जिल्लामा सञ्चालित बैकहरुले भने नियमित कामका कारण भुकम्प पिडितको अनुदान वितरणमा ढिलाई भएको स्किारेका छन् । भुकम्प पिडितहरुको अनुदान वितरण मात्र गरेर बस्दा आफ्ना नियमित काममा असर पर्ने उनिहरुको भनाई छ । दैनिक २० देखि २५ जना भन्दा धेरैलाई अनुदान वितरण गर्न नसक्ने एनसीसी बैङ्कका शाखा प्रमुख पुस्कर कार्कीले बताए । उनले अन्य कारोबार गर्ने ग्राहकहरुकै चाप धेरै हुने भएकाले पनि भुकम्प पिडितको अनुदान वितरण गर्न समस्या भएको बताएका छन् । निजि बैंक बाहेक सरकारी बाणिज्य बैंकहरुले भने समयमै अनुदान वितरण गरेको पिडितहरुले बताएका छन् ।
नेपाल बैंक लिमिटेड चरिकोट शाखाका खजान्ची शसी कुमार सिंहले अनुदान वितरण आफुहरुकाँहा निरन्तर भएको बताए । उनले प्राइबेट बैंकहरुमा जनशक्ति कम भएका कारण पनि ढिलाई भएको हुनसक्ने बताएका छन् ।

 

1,229 total views, 2 views today

प्रतिक्रिया दिनुहाेस्