झुक्दिनँ भन्दा भन्दै झुकाए मोदीले !



पिउदिनँ भन्दा भन्दै पिलायो साथीले
म छु भनी भरोसा दिलायो साथीले

शिव परियारले गाएको यो गीतमा दुईचारपटक नाचेको छु । कहिलेकाहीँ बडो मजाका साथीहरू भेटिन्छन् किनभने तिनले भरोसा दिलाएका हुन्छन् । यो एकबारको जुनीमा दिले सरसँग बसेर रमाइलो गर्ने सपना देखेका मनुष्यहरूलाई खुशी पार्न म ननाची रहन सक्दिनँ । ‘जानकी मन्दिरको कसम’ सक्दिनँ । यदाकदा वामदेव गौतम नाचेको पनि देख्न सकिन्छ । हो, त्यस्तै ।

तर म छु भनी भरोसा दिलाएको साथी जब पिसाब फेर्ने बहानामा घरतिर भाग्छ । कतैबाट फोन आएको नाटक गरेर कानमा मोबाइल तेर्साउँदै गायब हुन्छ । तब त्यो भरोसाले पेयपदार्थको कुरा त परै छोडौं, टोक्न बाँकी रहेका सलादको बिल भुक्तानी गर्न सक्दैन । अनि शुरु हुन्छ अचानक हल्लाखल्ला । दोहोरी साहुको भन्दा नि आडैमा रहेका युवतीहरूसँग निकै लाज हुन्छ ।

ती युवतीहरू पनि बडो अजीबका हुन्छन् । यो नि खान्छु, त्यो नि खान्छु । मेरा बा, एक गिलास जुसको पच्चीस सय रुपैयाँसम्म । गालामा हल्का किसको साथमा एक मुस्कान यता आउँछ, उता २४ सयको बिल चढिसक्छ । काउन्टरको ’ज्याङ्गो ट्यापे’ हेर्दा सातोपुत्लो उड्छ । तर केही फिकर हुन्न किनभने साथमा ’भरोसा दिलाउने’ साथी हुन्छ ।

तर म छु भनी भरोसा दिलाउने साथी नै आँखैअगाडि फरार भएपछि हालत के हुन्छ ? यो अंकमा त्यतातिर अनावश्यक चर्चा नगरौं ।

केपी ओलीको भरोसा

नेपालमाथि गरिएको नाकाबन्दीको विरुद्धमा खरो उत्रिएका केपी ओलीले त्यो मानवीय संकटको समयमा भरोसा दिलाउँदै भनेका थिए, ‘अब म छु, चिन्ता नगर । चुलाचुलामा ग्याँस, हावाबाट बिजुली आउँछ ।’ हालसालै समेत यिनले राराको किनारामा बसेर भरोसा दिलाउन बिर्सेका थिएनन् । भन्दै थिए, ‘जाडोका कारण कोही नेपाली मर्न पर्दैन किनभने अब म छु ।’ निर्वाचनताका पोखराको जनसभालाई सम्बोधन गर्दै ‘भात खानकै लागि कोही नेपाली तड्पिनुनपर्ने, बिस्तारामै भात ल्याइदिने’ भरोसा दिलाएका थिए ।’

मृत सपनाहरूलाई जगाएका, झुकेको शिरलाई उठाएका ठहर गर्दै ओलीलाई राष्ट्रवादी शासकको रूपमा व्याख्या गर्न थालियो । मानौं कि राष्ट्रवादको ठेकेदारी यिनैको थियो । अरू जम्मै देशद्रोहमा व्यस्त थिए । यिनका बारेमा हालसालै किताबसमेत प्रकाशित भएको थियो । खै केको सतिसाल भन्ने विषयमा । त्यो किताबमा यिनको वीरताका गौरवगाथाहरू समेटिएका छन् । यिनको बारेमा चलचित्रसमेत निर्माण हुने कुरा थियो ।

फरार राष्ट्रवाद

हिजोआज राष्ट्रवादको खेतीमा सिँचाई अपुग हुन थालेको छ । भलै यो मौसमी खेती किन नहोस्, खेती त आखिर खेती नै हो । नाकाबन्दीको सामान्य ‘रियलाइजेसन’ समेत नगरेको मोदी सरकारलाई एउटै देशभित्र दुई ठाउँमा कथित नागरिक अभिनन्दन किन गरियो ? कट्टर आलोचकले मात्रै हैन, ओलीपथकै आजीवन हनुमानहरूले समेत भेउ पाउनसकेका छैनन् ।

भेउ पाउन नसकेको मनुष्य बकबक कराउने मात्र हो । फोटो इडिट गरेर सामाजिक सञ्जालमा आफूलाई राम्रो, सभ्य देखाउन नाटक गर्ने, बा–आमाको ठेगान नभएका जस्ता ब्लग टाइपका अनलाइनमा झुटो कथा लेख्ने । तर रमाइलो कुरा यसबीच ‘पाहुनाको स्वागत सम्मान गर्नु हाम्रो कर्तव्य हो’ भन्दै विद्यासुन्दर शाक्य नामका नमूना पनि झुल्किएका छन् । पाहुनालाई सत्कार गरेर खान दिन सकिन्छ, सुत्न दिन सकिन्छ । तर काँधमा बोकेर छमछमी नाच्न सकिन्छ ?

नेसनलिस्ट इन अ ब्याड टाइम ?

राजनीतिमा अनेक किसिमका ’डिस्कोर्स’ चलिरहन्छन् । यी डिस्कोर्सहरू आवश्यकता र एक्सिडेन्टल्ली दुवै परिघटनाले उपस्थित हुन्छन् । नेपाली शाहवंशीय इतिहासका अन्तिम राजा ज्ञानेन्द्र शाहले एक सन्दर्भमा भनेका थिए :‘आई एम अ किङ् अफ ब्याड टाइम ।’ त्यस्तै विना कुनै पूर्वअनुमान अचानक राष्ट्रपति बन्न पुगेका डा रामवरण यादवले राष्ट्रपतिको शपथ खाएको केही दिनपछि भनेका थिए :‘आई एम नट ड्याट मच एक्साइटेड, एभ्रीथिङ् इज गिरिजाबाबु ।’

चीजहरूलाई अध्ययन गर्दा केपी शर्मा ओली, ’नेसनलिस्ट इन अ ब्याड टाइम’ हुने हुन् कि भन्ने संशय उत्पन्न भएको छ । यो खतरनाक षड्यन्त्रका पछाडि धेरै कुरा लुकेका हुन्छन् । राजनीतिमा जे बोलिन्छ, त्यो गरिँदैन र जे गरिन्छ त्यो बोलिँदैन भनिन्छ । नेपालमा लोकप्रीय बन्दै गएको कथित राष्ट्रवादको नाराले ओली प्रधानमन्त्री त बने, तर अचानक यिनका विपक्षमा यति ठूला विरोधका स्वरहरू किन उर्लिरहेका छन् ?
इज इट नेसनलिस्ट इन अ ब्याड टाइम ?

डिप्लोमेसी कि चिप्लियोमेसी ?

केही दिनअगाडि बालुवाटारमा माओवादी र एमाले नेताहरूको बैठक बसिरहेको थियो । स्रोतका अनुसार त्यो बैठक पार्टी एकताको सन्दर्भमा थियो । त्यहाँ अचानक प्रधानमन्त्री केपी ओलीको मोबाइलको घण्टी बज्यो । केपी ओली जुरुक्कै उठेर एकान्त ठाउँमा गए । केही मिनेट उनी हराए । फोनमा कुराकानी सकिएपछि ओली निकै हँसिलो मुद्रामा फर्केका थिए ।

त्यो फोन अरू कसैको नभएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थियो । मोदीले आफू शुरुमा काठमाडाैं नभई जनकपुर आउन चाहेको बताएका थिए । मोदीमा एउटा इगो थियो, त्यो के भने दिवंगत भइसकेका पूर्वप्रधानमन्त्री सुशील कोइरालाले मोदीलाई जनकपुर जानबाट रोकेका थिए किनभने त्यहाँ आमसभा गर्ने, साइकल बाँड्ने र भाषण गर्ने योजना थियो मोदीको ।

मोदीको प्रस्तावलाई शुरुमा त ओलीले आनाकानी गरेका हुन् । तर मोदीले ‘केही फरक पर्दैन, मैले पनि चीनको प्रधानमन्त्रीलाई नयाँ दिल्लीमा स्वागत गरेको हैन’ भनेर कन्भिन्स गरे । ओली राजी भए । मोदी सीधै जनकपुर आउने भए । मोदी सीधै जनकपुर गएकोमा कूटनीतिक क्षेत्रमा बहस चलेको छ । जनकपुरमा देखिएका गतिविधिहरूबाट केही तथ्यहरू भेट्न सकिन्छ ।

पहिलो, नागरिक अभिनन्दन भनेर प्रचार गरियो । तर वास्तवमा त्यो नागरिक अभिनन्दन थिएन । नागरिक अभिनन्दन त त्यो देशका नागरिकले गर्ने कुरा हो । तर जनकपुरमा हजारौं मानिस गाडीका गाडी भारतको बिहारलगायतका सीमावर्ती क्षेत्रबाट ओसार्ने काम भयो । फलस्वरूप ‘स्वतन्त्र मधेस’ लेखिएका ब्यानरहरू देखा परे ।

मधेसीलाई भारतीय भन्ने ? यो प्रश्न नउठोस् । भारतीय नम्बर प्लेटका बसहरूमा सागसब्जी, चिनी, दाल, माछा र कुखुराको चल्ला आएका त हैनन् । सीमावर्ती क्षेत्रमा भएको छिमेकी देशको प्रधानमन्त्रीको भ्रमण । हाम्रा सीमाहरूमा सुरक्षाको दृष्टिले पनि कडाइ गर्नुपर्छ कि पर्दैन ? तर मानिस ओसार्नको लागि सिमानाहरू झन् सहज पारियो ।

दोस्रो, भारतीय मञ्चमै प्रधानमन्त्रीलाई प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले चुक्ली लगाएका छन् । यो राष्ट्रघात हो । मोदीको धार्मिक भ्रमण थियो, नागरिक अभिनन्दनको कुरा थियो । यस्तो पवित्र समयमा मोदीको स्वागत र सत्कार मात्रै गरेको भए हुने तर राउतले नेपालको संविधान विभेदकारी भएकाले यसका विरुद्ध आफूहरू संघर्षमा रहेको बताउन भ्याए ।

भनिरहनुपर्दैन, संविधानमा समस्या छ । त्यसैले त संशोधन समेत भइरहेको छ । यो हाम्रो आन्तरिक मामिला हो । देशको समस्या हो । मोदीले गर्ने केही हैन । अझ यसो भनौं, भारतले हाम्रो संविधानको बारेमा टिप्पणी गर्ने, यसो गर, उसो गर भन्ने हैन । तर राउतको त्यस्तो किसिमको सम्बोधनले त्यो नागरिक अभिनन्दन थियो कि मोदीको सामुन्ने जनमानसको नजरमा यो नेपाल राज्यको ‘मोरल डाउन’ गर्ने कर्तुत थियो ?

सम्बोधनका क्रममा जंगिँदै मुख्यमन्त्री राउतले भनेका थिए, ‘अब म तपाईंको (मोदीको) ध्यान प्रदेश नम्बर २ मा आकर्षित गर्छु । राज्यद्वारा मधेसीप्रति जारी विभेदकारी नीति र पूर्वाग्रह र विद्वेषपूर्ण मानसिकताका कारणले नै मधेसका मानिसहरू तुलनात्मक रूपमा अत्यधिक गरीबी, बेरोजगारी, अभावग्रस्त, शोषित एवं उत्पीडित जीवन जिउन विवश छन् ।’

उनले जे भने त्यस विषयमा मतभेद वा बहस गर्नका लागि संसद् छ । सिङ्गो देश छ । सरोकारवाला निकाय छन् । राजनीतिक दलहरू छन् । प्रदेश सरकारको अलग्गै सभा बनेको छ । उनका माग जायज हुन सक्छन् कतिपय । हो, विभेद छन् । तर यस्तो कुरा सुनाउने ठाउँ हो त नागरिक अभिनन्दनको कार्यक्रम ? सम्बोधनको पाठ प्रायोजित थियो त?

तेस्रो, जनकपुर महानगरपालिकाको साँचो भारतलाई हस्तान्तरण गरिएको छ । जनकपुरको विकास मोदीको जिम्मामा लगाइएको छ । जनकपुरको हितका लागि मोदीले काम गर्लान् वा नगर्लान् त्यो भोलिको दिनमा थाहा हुने विषय भयो । तर तत्कालको लागि नेपालका शासकहरू चाहे ती राउत हुन् वा ओली यिनीहरूले नेपाली जनताको ’सेन्टिमेन्ट’ बुझेर पनि बुझ पचाएका छन् ।

तर भारतीयहरूले भने कुनै न कुनै रूपमा नेपाललाई हमला गरिरहेकै छन् । मोदीलाई जनकपुरको साँचो बुझाउँदै गर्दा भारतीय जनता पार्टीका नेता कीर्ति आजादले शुक्रवार ट्वीट गर्दै नेपालको जनकपुर क्षेत्र भारतीय भूमि रहेको भन्दै फिर्ता माग्न भारतीय प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । यो संयोग मात्र हुन सक्दैन । यो उनको निजी विचार हैन, भाजपाको नेपालनीति हो ।

सैन्य हस्तक्षेप किन ? 

मोदीले नै बारम्बार वीर गोर्खालीको देश भनेर पगरी गुथाएको भूमिमा भारतीय वायुसेनाले दर्जनौंपटक रेकी गर्दै उड्यो । उनीहरूका सयौं कमान्डो टोलीसमेत आए । तर वैशाख १४ र १५ गते मोदी चीन भ्रमणमा जाँदा भारतीय वायुसेनाको जहाज शांघाई र बेइजिङ पुगेर रेकी त गरेन । जनकपुर र मुक्तिनाथमा चाहिँ किन ?

बेलायती महारानी भिक्टोरियादेखि एलिजाबेथसम्म मात्र नभई इतिहासमा कुनै पनि शक्तिका सामु घुँडा नटेकेको हामी नेपालीलाई सन् १९४७ तिर स्वतन्त्र भई मैदानमा देखापरेको भारतले सुरक्षाको निहुँ पारी नेपालका पाखापखेराहरूमा मात्र नभई चीनसँग जोडिएका सीमानाकाहरूसम्म निर्बाध रूपले आफैं रेकी गर्नु नेपालको सेना अक्षम छ भनेर दर्शाउनु हो ।

मोदी अन्य देशको भ्रमणमा जाँदा निजी सुरक्षागार्ड र सुरक्षा समन्वयका लागि तीनजना सुरक्षा अधिकारी मात्रै लैजाने गर्छन् । नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणका गएका बेला पनि निजी सुरक्षागार्ड र सुरक्षा समन्वयका लागि एकजना सुरक्षा अधिकारी भारत गएका थिए । धर्मकर्म गर्न आउँदा यो हदको सैन्य गतिविधि अस्वाभाविक हो ।

भारतबाट ८६ जनाको कमान्डो टोली नेपाल आएको थियो ।  कमान्डो टोलीमध्ये २५ जना जनकपुर, १५ जना मुस्ताङ र बाँकी काठमाडौंमा घुमिरहेका थिए । विमानहरू उडिरहेका थिए । नागरिक अभिनन्दन गर्ने, तलुवा चाट्ने कुरा जे गरे पनि शासकको बलबुताको कुरा भयो तर यो देशको माटोमा विस्तारवादी फौजको बूट बजार्ने अधिकार दिने माइकालाल को हो ?

सुरक्षाकै कारण देखाएर नाकाबन्दीको स्मरण गर्दै सामान्य आलोचनात्मक विरोध गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ । मोदी सहभागी हुने कार्यक्रमभन्दा कोसाैं  टाढा रहेका अनशनकारीहरूलाई किन पक्राउ गरियो ? मोदी भ्रमणको सन्दर्भलाई लिएर सामाजिक सञ्जालमा लेखेकै आधारमा किन पक्राउ गरियो ? यति मात्र हैन, विवेकशील साझा पार्टीले बखुन्डोलस्थित आफ्नो केन्द्रीय कार्यालयमा टाँगेको ब्यानर प्रहरीले च्यात्यो ।

लोकतन्त्र भन्नुहोस् वा गणतन्त्र, वाक् स्वतन्त्रता र राजनीतिक मत राख्ने अधिकार सबैलाई छ । कुनै तानाशाहको देशमा बाहेक राजनीतिक पद्धतिले निर्माण गरेको राज्य व्यवस्थामा लेख्न, बोल्न, विचार प्रकट गर्न मानिसहरू स्वतन्त्र छन् । तर ओली सरकारले मोदीलाई खुशी पार्न आफ्नै देशमा दमन ग–यो । सुनिन्छ, मिडियाहरूको प्रवेश पासको परिचयपत्रमा सेनाको कर्णेलले हस्ताक्षर गरेका थिए । यस्तो खालको नीति त अधिनायकवादमा मात्र हुन्छ ।

झुक्दिनँ भन्दा भन्दै झुकाए मोदीले !

http://lokaantar.com/samachar/43069

116 total views, 3 views today

प्रतिक्रिया दिनुहाेस्